• चाेरीकाे स्कुटर प्रयाेग गरेर लुटपाट गर्ने चार जना पक्राउ

  • काठमाडाैं। प्रहरीले मोबाइल लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ। चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गर्ने चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

    १७ जेठमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–९ स्थित निलो पुलबाट बा ८३ प ३४३६ नम्बरको चोरीको स्कुटर प्रयोग गरी ३/४ जनाको समूहले मोबाइल लुटपाट गरी फरार भएको खबर महाराजगञ्ज वृत्तमा पुगेको थियो।

    लगत्तै महाराजगञ्ज वृतबाट खटिएको प्रहरी टोली फरार व्यक्तिहरुको खोजीमा परिचालन भएको थियो। खोजतलास गर्ने क्रममा चार जनालाई पक्रन सफल भएको महाराजगञ्ज वृत्तका डीएसपी रोशन खड्काले बताए।

    पक्राउ पर्नेहरुमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१० घर भई बौद्ध बस्ने २४ वर्षीय सोभित श्रेष्ठ, धादिङ गजुरी नगरपालिका–७ घर भई बुढानीलकण्ठ बस्ने २१ वर्षीय करुण उप्रेती रहेका छन्।

    यस्तै काठमाडाैं बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने १९ वर्षीय एलिन अधिकारी र मकवानपुर हेटौडा उपमहानगरपालिका–९ घर भई हाल तार्केश्वर गोलढुङ्गा बस्ने वर्ष ३५ को राम परियार पक्राउ परेको प्रहरीले जनाएको छ।

    चोरीमा प्रयोग भएको स्कुटर र लुटपाट गरेको विभिन्न कम्पनीका ११ थान मोबाइलसहित ४ जनालाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको डीएसपी खड्काले जानकारी दिए।

    उनीहरुको साथबाट स्कुटरसँगै सामसुङ कम्पनीको २ थान मोबाइल, रेड्मीको २ थान, आइफोन २ थान, रियलमी २ थान, नोकिया १ थान, भिभो १ थान र हुवावेको १ थान मोबाइल बरामद भएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय