काठमाडौं । फिफा विश्वकप कतार २०२२ तथा एसिया कप २०२३ का छनोट चरणका बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीको २३ खेलाडीसहित ३५ जनाकै पीसीआर टेस्ट नेगेटिभ आएको छ ।
शनिबार इराकसँग बसरा रंगशालामा मैत्रीपूर्ण खेलपछि नेपाली टोली आइतबार साँझ त्यहाँबाट स्थलमार्ग हुँदै कुवेत पुगेको थियो । कुवेत पुगेपछि गरिएको पीसीआर टेस्टमा नेगेटिभ रिपोर्ट आएको अखिल नेपाल फुटबल संघ (एन्फा) सदस्यसमेत रहेका टोलीका व्यवस्थापक मदुसूदन उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार टोलीका खेलाडी सोमबार बिहान जिममा पनि समय बिताएका छन् । नेपालले इराकसँगको खेल ६–२ ले गुमाएको थियो । पहिलो हाफमा एक समय अञ्जन विष्ट र मनीष डाँगीको गोलमा २–१ को अग्रता बनाए पनि पछि भने सम्हालिन नसक्दा हार बेहोर्न पुगेको थियो । न्युट्रल भेन्युका रूपमा रहेको कुवेतमा नेपाली टोलीले विश्व कप छनोट र एसिया कप छनोटको बाँकी ३ खेल खेल्नेछ ।
नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो । अंक तालिको पुछारमा रहेको ताइपेईले अंक जोड्न सकेको छैन । अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ । अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रूपमा मात्र बाँकी छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।