

बुटवल। कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) रूपन्देहीको आयोजनामा नेपालकै पहिलो बीटुसी समिट बुटवलमा सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिनसम्म चलेको समिटको औपचारिक समापन सोमबार सिद्धार्थ कटेज, मिलनचोकमा विशेष कार्यक्रम गरी गरिएको हो।
समिटको समापन कार्यक्रममा क्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष सुनौना घिमिरे पाण्डेले नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइन्। उनले तीन तहका सरकार रहेको भए पनि सूचना तथा सञ्चार क्षेत्रमा अपेक्षित प्रगति नभएको उल्लेख गर्दै डिजिटल नेपाल निर्माणका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने बताइन्।
त्यस्तै, क्यान महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवरले रूपन्देहीबाट सुरु भएको बीटुसी समिटलाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिए। उनले क्यान महासंघले यस पहललाई सकारात्मक रूपमा अघि बढाइरहेको बताए। साथै, पहिलो पटक महिला अध्यक्षको नेतृत्वले महासंघमा नयाँ ऊर्जा र उत्साह ल्याएको भन्दै प्रशंसा गरे।
बुटवल उपमहानगरपालिकाका सामाजिक परिचालन, अन्तरसरकारी तथा संघसंस्था समन्वय शाखा अधिकृत दामोदर ज्ञवालीले सूचना प्रविधिको युगलाई आत्मसात गर्दै डिजिटल प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा क्यान महासंघ नेपालका पूर्व अध्यक्ष रञ्जीत कुमार गोदार, क्यान महासंघ रूपन्देहीका अध्यक्ष जीवन अधिकारी, उपाध्यक्ष एवं समिट संयोजक विरबहादुर क्षेत्री लगायतले आ–आफ्ना धारणा राखेका थिए।
क्यान रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिट अवलोकन गर्न ५,००० भन्दा बढी दर्शक उपस्थित भएका थिए। समिटलाई सफल बनाउन विभिन्न ब्राण्ड कम्पनीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए।
सूचना प्रविधि क्षेत्रको विकास र डिजिटल नेपालको निर्माणमा टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको बीटुसी समिटले प्रविधिप्रेमीहरूबीच उत्साहजनक सहभागिता र सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
