पाल्पा । प्रेस चौतारी नेपाल, पाल्पाको नवौं अधिवेशन यही माघ २१ गते हुने भएको छ । तानसेनमा बसेको जिल्ला कार्यसमिति बैठकको निर्णय अनुसार यही माघ २१ गते नवौं अधिवेशन हुने भएको हो ।
बैठकले प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा नवौं अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले विगत ३ वर्षको कार्यसम्पादन र योजनाका बारेमा समीक्षा गरेको छ । प्रेस चौतारी नेपाल, पाल्पाका अध्यक्ष कृष्ण कार्कीले ३ वर्षको कार्यकाल उत्साहपुर्ण रुपमा चलेको भन्दै यो समयमा सहयोग गर्ने सम्पुर्ण जनप्रतिनिधि, पार्टीका नेता, सहकर्मी पत्रकारहरुलगाएतलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीले पत्रकारीता क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउन संगठनले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पाल्पाका उपाध्यक्ष विमल प्रसाद काफ्लेले संगठन चलायमान बनाउन सक्रिय र संगठनमा काम गर्ने व्यक्तिहरु नेतृत्वमा आउनुपर्ने बताउनुभयो । उहाँले पार्टी र पार्टी नेतृत्वको स्थानीय सरकारले गरेका कामहरुको सकारात्मक र आलोचनात्मक समाचारले पार्टी र नेतृत्वलाई मार्गदर्शन र उर्जा मिलेको बताउनुभयो । काफ्लेले स्थानीय तहसंग पत्रकार र सञ्चारगृहलाई जोड्दै समन्वय गरेर सहकार्य गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो ।
बैठकमा नेकपा एमाले पाल्पाका उपसचिव तथा प्रचार विभाग प्रमुख दिपक विश्वकर्माले संगठनलाई चलायमान बनाउने आधार भनेको अधिवेशन भएको बताउनुभयो । विश्वकर्माले मिडियाको दिगो व्यवस्थापन र पत्रकारीता क्षेत्रमा टिक्ने वातावरण बनाउन पार्टीले भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले पत्रकारीता क्षेत्रलाई गतिशिल बनाउने र सबैलाई साथ लिएर अघि बढ्न सक्ने आगामी नेतृत्व छनौट हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी सहईन्चार्ज कमलराज तिमिल्सेना, केन्द्रीय सदस्य तथा गुल्मी ईन्चार्ज मिलन विश्वकर्मा, संस्थापक अध्यक्ष केशवराज नेपाल, नेताहरु किरण कौशल, नवराज ज्ञवालीलगाएतले प्रेस चौतारी नेपाल, पाल्पा शाखाले विगत ३ वर्षमा रचनात्मक र प्रगतिशित काम गरेको विषयमा जोड दिनुभयो ।
अधिवेशनका अवसरमा प्रेस चौतारी नेपाल, पाल्पाको ३ वर्षको गतिविधि झल्कने फोटो किताब प्रकाशन र सार्वजनिक गर्ने संस्थाका सदस्य दयाराज न्यौपानेले जानकारी दिनुभयो ।
Source : madiviewnews
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।