काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आज (सोमबार) पनि जारी रहने भएको छ । शुक्रवारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आइतवार सरकारी वकिलको कार्यालय लगिए पनि बयान अझै नसकिएकाले आज पनि जारी रहने भएको हो ।
बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आजसम्म काठमाडौंमा नै रहने भएका छन । बयान सकिए पछि सम्भवतः आजै पोखरा फर्काइने छ । शुक्रबार बिहानदेखि सुरू भएको बयान सो दिनको अपरान्ह ३ः३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । हिजो उनले झन्डै ५ घन्टा लामो बयान दिएका थिए ।
सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाइ ठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो । स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ । बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन् । त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ।
त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ । यसअघि उनका पार्टनर पूर्व डीआइजी छविलाल जोशीसँग बयान लिइएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ । पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा २४ जना प्रतिवादी छन् । तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवाः र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन् ।
अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि–छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ । मुख्यतया: अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जिबी, रवि र छवि जोशी छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।