काठमाडौं । गएको बुधबारदेखि नै प्राविधिक गडबढीका कारण रोकिएको राहदानी वितरण आज (आइतबार) पनि ठप्प छ । यसका कारण पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् । आइतबार विभागमा पुगेका सेवाग्राही राहदानी बनाउन नपाएपछि आक्रोशित भएका छन् ।
आज राहदानी विभाग पुगेका सेवाग्राहीले नाराबाजी गर्दै राहदानीको माग गरेका छन् । सरकारको कमजोरीले गर्दा आफूहरूको अत्यावश्यक काम रोकिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् । आइतबारदेखि सेवा पुनः सुरु गर्ने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी सेवा प्रभावित नै रहेको जानकारी दिएको छ ।
राहदानी आवेदन प्रणालीका केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेको थाहा पाएपछि यसको जोखिम रोक्नका लागि बन्द गरिएको बताएको छ । राहदानी वितरण कार्य पूर्ण रुपमा प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने बुझिएको छ । तर अत्यावश्यक पर्ने सेवाग्राहीहरूका लागि विभागवाट क्रमशः सेवा उपलब्ध गराउन सुरु भइसकेको विभागको भनाइ छ ।
हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । राहदानी वितरण रोकिँदा सेवाग्राही मर्कामा परेका छन्। विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ ।विभागले गत शुक्रबार गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।