• पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

  • काठमाण्डौ – आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका छन् । मङ्सिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले दलहरु तयारीमा लागेका हुन् ।

    काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित पालिकाका रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो । यसअघि पालिकाका ३९ पदमा उपचुनाव हुने भनिए पनि घोषणा भइसकेपछि थप ५ पद रिक्त हुन पुगेकाले सबै ४४ पदमा उपचुनाव हुने आयोगले जनाएको छ ।

    आयोगका अनुसार एक नगरपालिकाका मेयर र दुई गाउँपालिकाका अध्यक्षसहित जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपाालिका उपाध्यक्ष, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र बाँकी वडाध्यक्ष पदका लागि उपचुनाव हुनेछ ।

    मेयरको लागि एक ठाउँमा मात्रै उपचुनाव हुन लागेकाले दलहरुको ध्यान कीर्तिपुरमा बढी केन्द्रित भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएकाले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उपचुनाव हुन लागेको हो ।

    कांग्रेस कीर्तिपुर नगर समितिले मेयरका लागि कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको छ ।

    नेकपा एमालेल सुरेन्द्र मानन्धरलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार सिफारिस गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पालिका उपचुनावको लागि निर्वाचन आयोगमा २५ वटा दल दर्ता भएका छन् । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय