काठमाडौं । सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले विवादास्पद व्यापारीको घरमा बस्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाजै नमानी एमालेविरुद्ध लाञ्छना लगाएको टिप्पणी गरेका छन् । सोमबार पाँच विपक्षी दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापनपत्रका दुई बुँदा पढ्दा आफूलाई रमाइलो लागेको रिजालले उल्लेख गरेका छन् ।
‘वर्षौदेखि कालोसूचीका विवादास्पद व्यापारीको घरमा बस्ने, अनेक व्यापारीसँग कारोबारमा जोडिने र आफ्नो वैवाहिक वर्षगाँठसमेत व्यापारीकै घरमा मनाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयमले कत्ति पनि अप्ठेरो नमानी पहिलो नम्बरमै हस्ताक्षर गरेर नेकपा (एमाले) ले खुल्ला र पारदर्शी रूपमा आफ्ना शुभेच्छुक व्यवसायीबाट जग्गा प्राप्त गरेको कुरालाई गैरकानुनी र सुशासनको उपहास देख्नु भएछ, हिम्मत भए त्यो ज्ञापनपत्र बुझाउन जानुभन्दा पहिला खुमलटारस्थित आफूले हक भोग गरिरहेको, शारदाप्रसाद अधिकारीको भनिएको घर छाडेको भए हुन्थ्यो नि !’ रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
आफ्नो पहलमा अध्यादेश ल्याएर एमाले फुटाउने प्रचण्डले वर्तमान सरकाले अध्यादेश ल्याएर निरङ्कुशता लाद्न खोजेको आरोप लगाउनु अर्को लज्जाको विषय भएको रिजालले उल्लेख गरेका छन् । ‘आफ्नै पहलमा अध्यादेश ल्याएर तीन वर्षअघि नेकपा (एमाले) विभाजन गर्ने र त्यही अध्यादेशबाट लाभ प्राप्त गरेका पार्टीले चाहिँ अध्यादेश ल्याएर वर्तमान सरकारले सरकार टिकाउन र दुई दलीय तानाशाही लाद्न खोजेको आरोप लगाउनु पनि अर्को रोचक पक्ष छ’, उनले लेखेका छन् ।
अध्यादेश आउने र नआउने ठेगान नभए पनि कम्तीमा माओवादी र एकीकृत समाजवादीले त्यसको विरोध गर्ने नैतिक हैसियत नराख्ने नेता रिजालले स्पष्ट पारेका छन् । ‘अध्यादेश आउँछ-आउँदैन, थाहा छैन तर, यदि आएछ भने पनि कम्तीमा तीन वर्षअघि अध्यादेश ल्याउन निर्णायक भूमिका खेल्ने नेकपा (माओवादी केन्द्र) र अध्यादेशका भरमा जन्मिएको नेकपा (एकीकृत समाजवादी) ले चाहिँ नैतिक रूपमा पनि त्यसको विरोध गर्न मिल्दैन, मिल्दै मिल्दैन’ रिजालले लेखेका छन् ।
सत्ता साझेदार दलबीच सहमति नभई कुनै निर्णय नहुने पनि उनले स्पष्ट पारेका छन् । ‘ढुक्क भए हुन्छ, सत्ता साझेदार दलबीच सहमति नभई कुनै निर्णय हुँदैन, यदि सहमति भएछ भने कुनै ज्ञापनपत्र, रोइकराई, हारगुहार र गालीगलौजले त्यो रोकिनेवाला छैन ।’ नेता रिजालले भनेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।