• बीपी राजमार्ग फेरि एकतर्फी सञ्चालनमा

  • काठमाडौं । सुख्खा पहिरो खसेर अवरूद्ध बनेको बीपी राजमार्ग अन्तर्गतको मंगलटार–नेपालथोक खण्ड फेरि खुलेको छ । राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

    उनका अनुसार खसेको पहिरोलाई सडकबाट हटाइएको छ भने एकतर्फी रुपमा सवारी सुचारू गरिएको छ । गत असोज १० देखि १२ गतेसम्मको बाढी–पहिरोले बीपी राजमार्ग पूर्णरुपमा अवरूद्ध थियो । आज (शुक्रबार) बिहान विभिन्न स्थानमा डाइभर्सन, कटिङ र फिलिङ गरी राजमार्ग सञ्चालनमा ल्याएकामा पिप्लेमा सुख्खा पहिरो खसेको थियो ।

    पहिरोले जीप पुरेको थियो । पहिरो पन्छाउन गएको डोजर समेत पल्टिएको थियो । उक्त सडक खण्डको पहिरो पन्छाएर शुक्रबार दिउँसो २ः३० बजेबाट पुनः सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।

    ‘यही असोज १०–१२ गतेको को बाढी पहिरोबाट देशका सबै क्षेत्रमा जनधन समेतको ठूलो क्षति हुन पुग्यो । यसै क्रममा ८० वटामध्ये ३९ राष्ट्रिय राजमार्गहरू अवरूद्ध भएकामा कतिपय खण्ड १३ गतेदेखि नै खोली यातायात सञ्चालन गर्न सुरू गरिएएको थियो ।

    खोल्न बाँकी र सबैभन्दा बढी क्षतिग्रस्त प्रमुख सडक बिपी राजमार्गको चौकीडाँडा–मंगलटार–नेपालथोक खण्ड पनि विभिन्न स्थानमा डाइभर्सन, कटिङ र फिलिङ गरी आज २५ गते बिहान १ः३० बजे सवारी साधन सञ्चालन हुन सक्ने बनाइएको थियो । तर पिप्लेको सुख्खा पहिरोले एउटा जिप पुरेको र सफा गर्न गएको जेसिबी लोडर समेत पल्टाइदिएपछि रोकिएको यातायात अहिले दिउँसो २ः३० पुनः सञ्चालनमा आएको छ,’ उनले सुनाए ।

    उनले विभिन्न राजमार्गमा सुख्खा पहिरो खस्ने सम्भावना अझै रहेको जानकारी दिएका छन् । त्यसैले सावधानी अपनाएर यात्रा गर्न अनुरोध पनि गरे । ‘अझै पनि सुख्खा पहिरो जाने, नदीले कटान गर्ने, फिलिङ गरेको खण्डमा सडक भासिन सक्ने सम्भावना भएकाले अनुशासित भइ सावधानीपूर्वक सडक प्रयोग गर्न सबैमा अनुरोध गर्छु,’ उनले भने । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस