चितवन। चितवनका अस्पतालमा उपचारका क्रममा २० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा ७, चितवन मेडिकल कलेजमा ५, पुरानो मेडिकल कलेजमा ५ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन जना सङ्क्रमितको मृत्यु भएको हो।
कोरोनाका कारण जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो।
कार्यालयका अनुसार केही दिन अघि मात्रै एकै दिन १८ जनाको मृत्यु भएको थियो । मकवानपुर, बारा, पर्सा, रौतहट, तनहुँ, धादिङ्, गोरखा, काठमाडौं, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, प्यूठान, नुवाकोटलगायतका जिल्लाबाट उपचारका लागि आउने गर्दछन्।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार चितवनका अस्पतालमा ५ सय २१ जनाको उपचार भइरहेको छ। जसमध्ये २६० जना सघन उपचार कक्षमा उपचाररत छन् ।
५९ जनाको एचएफएनसी, ९६ जनाको एचडीयू र १६५ जनाको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।