• रवि लामिछानेमाथि सहकारी ठगी र पासपोर्टबारे छानविन होस् : मुकुल ढकाल

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री मुकुल ढकालले रवि लामिछानेले सहकारीमा आरोप लागे जस्तै आर्थिक गतिविधि पार्टीभित्र पनि गरिरहेको आरोप लगाएका छन् ।

    पार्टीले कारबाही गरेको भोलिपल्ट आज (बुधबार) पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाएका हुन् । १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले बताएका छन् । तर त्यसपछि बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुका साटो बैठक राख्नु पनि कमजोरी भएको उनले बताए । त्यसपछि पनि आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले दाबी गरे ।

    सभापति लामिछानेप्रति निकै असन्तुष्ट देखिएका उनले सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गरे । पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उनले भने, ‘यसमा रास्वपाको धारणा के छ ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’

    त्यस्तो समितिमा बस्नेहरु लामिछानेले नभई राजदूत छनोट जस्तै प्रक्रियाबाट ल्याउनुपर्ने उनको माग छ । उनले लामिछानेको पासपोर्ट प्रकरणबारे पनि पार्टीले छानबिन गर्नुपर्ने उनको माग छ । यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै उनले भने, ‘यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्छ ।’

    ढकालले लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको बताएका छन् । ‘रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्’, उनले भने । उनले ऋण छ भनेर पार्टी कोषबाट लैजाने काम भएको भन्दै केन्द्रीय समितिको निर्णय बिना कुनै ऋण वा लगानी गर्न नपाउने बताए । उनले पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै भुक्तानी नदिन भन्दै पारदर्शी रूपमा हरहिसाब राखेर मात्र खर्च गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।

    ‘देउवाको सरकार बन्यो भने टाँसिन पाइएला भनेर सरकार छाडेनन्’
    डा. ढकालले संविधानको धारा ७६ (३) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ भन्ने आशमा रवि लामिछानेले सरकार नछाडेको टिप्पणी गरेका छन् । रविको शैली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जस्तो सत्तामुखी देखिएको उनले टिप्पणी गरे । ढकालले देउवाको सरकार बन्ने आशमा लामिछानेले सरकार नछाडेको आरोप लगाएका हुन् ।

    ‘आजको रविलाई प्रचण्डको शैली मन पर्छ, देउवाको सरकार बन्ला र टाँसिन पाइएला कि भनेर सरकार छाड्नु भएको छैन । प्रचण्डको शैली मन पर्नेलाई मुकुलको नपर्न सक्छ,’ ढकालले भने । ढकालले पार्टी स्थापनाको योजना कालीकोटको रास्कोटमा बनेको र आफूले नै राजनीतिक प्रतिवेदन तयार गरेको दाबी गरे ।

    उनले आफूलाई ‘बालपन’, बच्चापन’ भयो भन्दै आफ्नो शैली र छविमा आँच लगाउने काम रवि लामिछानेबाट भएको बताए । उनले भने, ‘अहिले धारा ३ अनुसार सरकार बन्छ कि भनेर रवि लामिछाने त्यो सरकारमा जान पाइन्छ कि भनेर टुसुक्क परेर बसिरहनु भएको छ । प्रचण्ड ओली र देउवाको शैली मन पर्नेलाई मुकुल ढकालको शैली कहाँ मन पर्छ ?’ उनले महामन्त्रीलाई बालक र ‘अपरिपक्व’ भन्ने प्रमाणित गर्न बन्द कोठामा बैठक बसेर लाइभ नगरिएको बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस