• नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ५२ प्रतिशत मात्रै काम, थपिएको म्याद सकिन २० दिन मात्रै बाँकी

  • नवलपरासी – नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा अहिलेसम्म ५२ प्रतिशत मात्रै काम भएको छ । यो खण्डमा थपिएको म्याद सकिन अब २० दिन मात्रै बाँकी छ । नारायणगढ–बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आउँदो साउन ८ गते सकिँदैछ । २०७५ साल माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो ।

    यसबीचमा दुईपटक म्याद थप भइसकेको छ तर दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम भएको योजनाका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । पूर्वी खण्डमा गैँडाकोटको नारायणी पुलदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्छ । चार ‘लेन’ मा विस्तार गर्ने सडक दुईतर्फी गरेर एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको हो ।

    निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिलेको म्याद रहेको अवधिमा नयाँ थप काम नगरे पनि कालोपत्रको लागि तयारी रहेको खण्डमा कालोपत्र गर्ने योजना बनाएको सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले बताउनुभयो । बेस तयार भएको काम सकेमा यात्रुलाई छ/सात किलोमिटर थप यात्रामा सहज हुने उहाँले बताउनुभयो ।

    म्याद सकिने अवस्थामा रहेकाले अब योजना कसरी सम्पन्न गर्ने भन्नेबारेमा छलफल चलिरहेको उहाँले बताउनुभयो । वर्षा शुरु भएसँगै राजमार्ग हिलाम्य छ । दाउन्ने क्षेत्रमा पटक–पटक पहिरोले सडक अवरुद्ध हुँदै आएको छ ।   

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस