• एमालेसँग भएकाे सहमति कांग्रेसले अनुमाेदन गर्‍याे, राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह

  • काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सहमतिको स्वागत गरेको छ ।

    सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमालेसँगको सहमतिको स्वागत गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गरेको उहाँले बताउनुभयो ।

    कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अस्ति सोमवार राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । सहमतिमा दुई दलले आउँदो चुनावसम्म आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । पहिलो एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ । यससँगै संविधान संशोधनलगायत विषयमा पनि दुई दलबीच सहमति बनेको छ । त्यही सहमतिलाई अनुमोदन गराउन सभापति देउवाले कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।

    यसअघि हिजो बसेको नेकपा एमाले सचिवालयको बैठकले पनि कांग्रेससँगको सहमतिलाई अनुमोदन गर्दै राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएमा संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठनको बाटो अवलम्बन गर्ने महतले बताउनुभयो । त्यो भनेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसकेमा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस