• एमाले कार्यदलको बैठक : कार्यकर्ताबीच विवाद बढ्न नदिन अपिल गर्ने निर्णय

  • काठमाडाैं। नेकपा (एमाले)को पछिल्लो विवाद निरूपणका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक सकिएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा कार्यदलका सदस्य विष्णु पाैडेल र शंकर पोखरेल बाहेकका सबै सदस्य उपस्थित भएको बैठकपछि माधव नेपाल पक्षबाट कार्यदलका संयोजक रहेका नेता भीम रावलले जानकारी दिए।

    बैठकले पार्टी कार्यकर्ताका बीचमा थप विवाद बढ्न नदिन अपिल गर्ने निर्णय गरेको छ। साथै बैठकले सहमति निर्माणका लागि एउटा कार्यविधि र आचारसंहिता तयार गर्ने पनि निर्णय गरेको छ। बैठकले देशैभर कार्यकर्ता बीचमा एकताको भावना सञ्चार गराउने निर्णय समेत गरेको नेता रावलले जानकारी दिए।

    उनले भने, ‘पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरिएको छ। कार्यदलले आफ्नो कार्यक्षेत्र कार्यविधि आचासंहिता तुरुन्त लागू गर्ने र पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ।’

    २ जेठमा बनेको कार्यदलको पहिलो बैठक हिजै बस्नुपर्ने भए पनि नेता रावलको आँखामा समस्या आएका कारण बस्न सकेको थिएन। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय