काठमाडाैं। दयाहाङ राईको निर्देशनमा तयार भएको नाटक ‘मितज्यू’ डिजिटल माध्यमबाट सार्वजनिक हुने भएको छ। मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यममा रिलिज गर्न लागेको हो।
सोमनाथ खनालद्वारा लिखित नाटक ३१ गते शुक्रबार साँझ ५ बजे माण्डला थिएटरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ।
सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रूपमा यही ‘मितज्यू’ नाटक प्रदर्शन भएको थियो। सोही नाटकलाई पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरूका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायांकन गरेर अहिले डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्न लागिएको थिएटरले जनाएको छ।
मितज्यू नाटक दुईजना वृद्धहरूले आफ्नो किशोरावस्थातिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’ कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनो अन्तर्गत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ।
मितेरी साइनोसँगै उनीहरूका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरूले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ। पञ्चायतकालीन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरूको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’ को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धहरूको जीवनदर्शन पनि समेटिएको छ।
डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि गत चैत महिनाको अन्तिम साता नाटकको छायांकन गरिएको थियो। नाटकमा वुद्धि तामाङ, विजय बराल, सृजना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ।
राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुन्न सकिनेछ। नाटक निर्माण तथा छायांकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरूको संलग्नता रहेको थिएटरले जनाएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।