संखुवासभा। संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङभित्र एक मजदुरको मृत्यु भएको छ।
विद्युत् गृहस्थलको सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।
बुधबार बिहान साढे ८ बजे आयोजनाको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा रहेको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले रानाको मृत्यु भएको हो। घनटामा सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका छन्। घाइते रानाको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएको छ।
सो जलविद्युत् परियोजनास्थलमा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइसकेका छन्। परियोजनामा नेपाली र भारतीयसहित तीन हजार भन्दा बढी मजदूर कार्यरत छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।