नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पारे । उनले भने, “पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।”
देशको स्वतन्त्र न्यापालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने उनको भनाइ थियो । “ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भनी कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो”, अध्यक्ष नेपालले भने । नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उनले उल्लेख गरे । “कम्युनिष्ट पार्टी नेताप्रधान नभई नीति र विचारप्रधान हो”, उनले भने ।
फरक प्रसङ्गमा अध्यक्ष नेपालले आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरुको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारे ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।