काठमाडाैं। नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताएका छन्।
आज पत्रकारसँगको कुराकानीमा उनले जिल्लाको सदस्यताको विवाद तिहारअघि नै समाधान हुने बताए । उनले भने, ‘विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरु छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ ।’
सहमहामन्त्री डा.महतले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसले नै बहुमत प्राप्त गर्ने गरी पार्टी अघि बढ्ने बताए ।
उनले भने, ‘अब कांग्रेस एकल बहुमत प्राप्त गर्ने गरी अघि बढ्छ, पार्टीको आगामी महाधिवेशनमा पार्टी एक ढिक्का हुन्छ र यसले आगामी सबै तहका निर्वाचनमा पार्टीमा बहुमत हासिल गर्न पूरा सहयोग पुग्छ ।’
पार्टीलाई महाधिवेशन केन्द्रीत मात्रै नभएर तीन तहको निर्वाचन केन्द्रीत भएर अघि बढाउने उनको भनाइ थियो । गठबन्धनको सरकार सञ्चालन गर्न सहज नभएको भन्दै उनले सबैलाई मिलाएर अघि बढ्ने बताए।
सरकारको एक सय दिन सफल रहेको भन्दै उनले सरकारले अरु धेरै कामका अतिरिक्त चार वटा महत्वपूर्ण काम गरेको बताए।
उनले भने, ‘सरकार गठन भएपछि जनतालाई कोभिड विरुद्धको खोप, पराराष्ट्र नीति, भ्रष्टाचार नियन्त्रण र संवैधानिक आयोगमाथिको हस्तक्षेप रोकिएको छ ।’
वर्षाका कारण भएको क्षतिको व्यवस्थापनमा सरकार लाग्नुपर्ने बताउँदै उनले उचित राहतको व्यवस्था गर्नुपर्ने बताए ।
उनले हालैको बाढीपहिरोका साथै चाडपर्वको समयमा भएका दुर्घटनाका मृतक र घाइतेलाई उचित क्षतिपूर्ति दिन आफूले प्रधानमन्त्रीलाई आजै भेटेर आग्रह गरेको पनि बताए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।