शनिबार रातिदेखि काठमाडौं उपत्यकासहित देशभरका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भएको छ । नेपालमा बंगालको खाडी र मध्य भारतबाट उत्तरतिर सर्दै गरेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले वर्ष भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार बिहान देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षासमेत भइरहेको विभागको भनाइ छ ।
विभागले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागले आगामी तीनदिन देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।