नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मुगमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह गरेका छन् ।
“बस दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गर्दछु” उनले बुधबार बिहान विज्ञप्ति जारी गर्दै भनेका छन् ।
मंगलबार मुगुमा ३२ यात्रुको ज्यान जाने गरी भएको बस दुर्घटना खबरले सबैलाई स्तब्ध बनाएको उनले उल्लेख गर्दै कास्की, अछामलगायत देशका विभिन्न भागहरूमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको बताएका छन् ।
दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
नेपालगञ्जबाट सोमबार छुटेको भे१ख ३१६७ नम्बरको यात्रुबाहक बस मङ्गलबार मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका- ७ स्थित पिनातपने खोला नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ३२ जनाको मृत्यु हुनुका साथै १३ घाइते भएका थिए । घाइतेको मुगु जिल्ला अस्पताल, बाँकेको नेपालगञ्ज र कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।