उत्तर कोरियाली नेता किम जोङ–उनले अमेरिकाको शत्रुतापूर्ण नीतिविरुद्ध कसैले पराजित गर्न नसक्ने ‘अजेय सेना’ बनाउने घोषणा गरेका छन् ।
उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले युद्ध सुरु गर्न नभई आत्म सुरक्षाका लागि उत्तर कोरियाले हतियारको विकास गरेको किमले बताएको उल्लेख गरेको छ ।
उत्तर कोरियामा विभिन्न प्रकारका विशाल क्षेप्यास्त्रहरू राखेर आयोजना गरिएको दुर्लभ प्रकारको सुरक्षा प्रदर्शनीका क्रममा किमले त्यस्तो टिप्पणी गरेका हुन् ।
उत्तर कोरियाले हालै ‘हाइपरसोनिक’ र विमानभेदी क्षेप्यास्त्र भएको दाबी गरिएका हतियार परीक्षण गरेको थियो ।
त्यसैगरी दक्षिण कोरियाले पनि हालै पनडुब्बीबाट हान्ने हतियार परीक्षण गरेको छ।
प्योङयाङमा भएको आत्मसुरक्षा सम्बन्धी सैन्य प्रदर्शनीमा किमले दक्षिणको सैन्य विकासलाई सम्बोधन गर्दै उनले आफ्नो छिमेकीसँग लडाइँ गर्न नचाहेको बताए ।
उनले भने, ‘हामी कसैसँग पनि युद्धबारे छलफल गरिरहेका छैनौं बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौं ।’
उत्तर र दक्षिण कोरियाबीच तनाव बढाउन भूमिका खेलेको भन्दै किमले अमेरिकाको आलोचना गरे । अमेरिकाको उत्तर कोरियाप्रति व्यवहार शत्रुतापूर्ण रहेको उनले बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडनले उत्तर कोरियासँग वार्ता गर्न चाहेको बताउँदै आएका छन् । त्यसका लागि उत्तर कोरियाले आणविक हतियार त्याग्नुपर्ने बताएको छ । उत्तर कोरियाले भने अमेरिकी शर्त अस्वीकार गरेको छ ।
संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले त्यो प्रतिबन्धलाई बेवास्ता गर्दै हतियारको विकास गरिरहेको छ ।
गत महिना राष्ट्र संघीय एटोमिक एजेन्सीले उत्तर कोरियाले एउटा आणविक हतियारमा प्रयोग हुने प्लुटोनियम उत्पादन गर्न सक्ने रियाक्टर पुनः सुरू गरेको जस्तो देखिएको भन्दै चिन्ता जाहेर गरेको थियो ।
उत्तर कोरियाले आफ्नो सुरक्षाका लागि हतियार विकास निरन्तर गर्न आवश्यक रहेको बताउँदै आएको छ ।
कोभिडका कारण चीनसँगको सीमा बन्द भएपछि उत्तर कोरिया पछिल्लो समयमा आर्थिक र खाद्य संकटको सामना गरिरहेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।