• पोखरालाई हराउँदै चितवनले जित्यो ईपीएलको उपाधि

  • काठमाडाैं। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले पहिलोपटक ईपीएलको उपाधि जितेको हो ।

    उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको पोखराले १५ लाख पायो ।

    पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो ।

    चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।

    यस्तै दिलीप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । त्यस्तै मोहमद साहजदले ११ रन जोडे भने कप्तान सोमपाल कामी चार रनमा अविजित रहे ।

    पोखराका किशोर महतोले चार विकेट लिए भने नन्दन यादवले दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटिएको थियो ।

    पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए भने रिचार्ड लेभीले २६ रन जोडे । विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२ तथा किशोर महतो एक रनमा अविजित रहे ।

    त्यस्तै विवेक यादव चार, रित गौतम दुई, सहन अर्चाचिगे दुई, विक्रम सोब एक रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए ।

    पोखरालाई सस्तैमा समेट्ने क्रममा चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले दुई/दुई विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा एक/एक विकेट रह्यो ।

    व्यक्तिगत विधातर्फको उपाधि पनि चितवनकै बर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् ।

    उपाधिसहित उनले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गरेका छन् ।

    त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले जनही ५१ हजार प्राप्त गरे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय