• राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई

  • काठमाडाैं। घरेलु टोली स्पोर्ट्स क्यासलले पोखरामा सञ्चालन भएको नेपालको पहिलो ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ ।

    पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा काठमाडौंको शङ्खमुल फुटसल क्लबमाथि ४–२ अन्तरको जित निकाल्दै क्यासल च्याम्पियन बनेको हो ।

    उपाधि विजेता क्यासलले १० लाख पुरस्कारसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता बनेको शङ्खमुलले पाँच लाखमा चित्त बुझायो ।

    पहिलो संस्करणको प्रतियोगितामा पोखरेली क्लब स्पोर्ट्स क्यासललाई उपाधि दिलाउन किशोर गुरुङले ह्याट्रिक गरे भने विजय गुरुङले एक गोल गरे। शङ्खमुलका लक्ष्मण थापा मगर र मणि लामाले १–१ गोल गरे।

    लिगको उदीयमान खेलाडी स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ घोषित भए। उत्कृष्ट गोल किपर शङ्खमुलका अनिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर फुटसल धरान–५ का विजय श्रेष्ठ, उत्कृष्ट विङ्गर शङ्खमुलका मणि लामा र उत्कृष्ट प्रशिक्षक क्यासलका विष्णु गुरुङ घोषित भए। उनीहरू सबैले जनही २५ हजार पुरस्कार पाए।

    लिगको विजेता तथा उपविजेतासहित पाँच विधामा उत्कृष्ट हुन सफल खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे), अखिल नेपाल फुटबल संघ(एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले ट्रफी तथा मेडल पुरस्कार वितरण गरेका थिए।

    अखिल नेपाल फुटबल संघले देशमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदेखि सुरु भएको प्रतियोगितामा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई forwardkhabar@gmail.com मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस