• कार्यकारी प्रधानमन्त्रीले दोष अरुमाथि थोपरेर उम्कन पाइदैन : देउवा

  • काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले अरुमाथि दोष थोपरेर उम्कन नपाउने बताएका छन् ।

    आफूहरुले प्रतिपक्षका रुपमा सरकारलाई हमेशा रचनात्मक र सहयोगी भूमिका निर्वाह गरेको उनको भनाई थियो । मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम हुन नसकेको, कोभिड–१९ को भयावह अवस्थामा अन्तरराष्ट्रिय संघसंस्था र मित्र राष्ट्रबाट रोकथाम र नियन्त्रण गर्न र नेपाली नागरिकलाई बचाउन आवश्यक सामग्री, औषधि खोपलगायत प्राप्त हुन सक्ने सहयोग पनि सरकारले लिन नसकेको आरोप कांग्रेस संसदीय दलका नेता देउवाले लगाए ।

    अस्पतालमा शय्या, सघन उपचार कक्ष र भेन्टिलेटर नपाएर नागरिकले ज्यान गुमाउनु परेको तथा कोरोनाको महामारी प्रारम्भ भएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि सरकारले नियन्त्रण र रोकथामको प्रभावकारी व्यवस्था नगरेको उनको आरोप थियो ।

    देउवाले भने, ‘हाम्रो पार्टीले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिबद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटकपटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन । विज्ञहरुले कोभिड–१९ को पटकपटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनी दिएको चेतावनीलाई सरकारले सुनेन । समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन । फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ । यस्तो अवस्था आउनमा सरकार जिम्मेवार छ ।’

    उनले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध भएको आरोप लगाए ।

    बितेका तीन वर्षमा देशमा भ्रष्टाचार मौलाएर गएको र ठूलाठूला काण्ड भएको, सरकारका बहुमूल्य जग्गा र सम्पत्ति विनामूल्य व्यापारिक घरानाहरुसँगको मिलोमतोमा भागका नाममा दिएको, मन्त्री स्वयं कमिसनका खेलमा लागेका घटना सार्वजनिक भएको, कोभिड–१९ को रोकथाम र नियन्त्रणसंँग सम्बन्धित सामग्री, औषधि र खोप खरीदको अनियमिता सतहमा आएको र राष्ट्रिय गौरवका महत्वपूर्ण योजना आर्थिक अनियमितता र भ्रष्टाचारका कारण अलपत्र परेको उनको आरोप थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय