• देशलाई संकटबाट उतार्न कांग्रेस नेतृत्व आवश्यक : मुख्यमन्त्री पोखरेल

  • गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका हरेक सङ्कटमा नेपाली कांग्रेसमाथि थप जिम्मेवारी आउने गरेको बताएका छन् ।

    नेपाली कांग्रेस पोखरा महानगर समितिले दसैँ, तिहार, नेपाल संवत्, छठ तथा इदको अवसरमा बिहीबार आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले गत चुनावमा कम्युनिष्टले दुईतिहाइ ल्याएपछि कांग्रेस निर्धक्कसँग प्रतिपक्षमा बसेको र उनीहरुबीचकै कलहले संवैधानिक सङ्कट निम्तिएपछि कांग्रेसले अघि सर्नुपरेको बताए ।

    उनले कांग्रेस प्रतिपक्षमा बस्दा पनि रचनात्मक भूमिका खेलेको स्मरण गरे । विसं २०६४ को चुनावमा माओवादी ठूलो पार्टी बने पनि संविधानसभाले संविधान दिन नसक्दा कांग्रेसले नै अग्रसरता लिनुपरेको उल्लेख गर्दै उनले विगतका घटनाले आफूहरूलाई पाठ सिकाएको र विकास तथा समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने गरेको बताए ।

    कांग्रेस १४औँ महाधिवेशनमा लागिरहँदा वडा, पालिका र हिमाली जिल्लामा चुनाव भइसकेकाले उनले अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । पार्टीभित्र हुने आन्तरिक लोकतन्त्रका लागि चुनावी प्रक्रिया अपनाइए पनि यसलाई सहजरूपमा लिन उनले कार्यकर्तासँग आग्रह गरे ।

    नगर सभापति सुरेन्द्र बिजुक्छेले कांग्रेस संस्थापक बिपी कोइरालाले सुरु गर्नुभएको चियापान समारोहलाई जिल्ला र पालिकास्तरसम्म पनि निरन्तरता दिइएको बताए । कांग्रेस कास्कीको चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा मन्त्रीद्वय कुमार खड्का, बिन्दुकुमार थापा, पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा, महादेव गुरुङ, कास्की सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय