• बालिका मृत्यु प्रकरणः स्थानीय प्रशासन र परिवारबीच चारबुँदे सहमति

  • उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चारबुँदे सहमति भएको छ ।

    आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो ।

    घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ । नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ तथा जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो ।

    यस्तै मृतक बालिकाका परिवारका सदस्यलाई उपयुक्त समयमा रोजगारीका लागि प्रयत्न गर्ने, मृतक बालिकाको काजकिरियाका लागि रु ४० हजार रकम अस्पताल विकास समिति र रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराउने सहमति भएको छ ।

    यस्तै आवश्यक कानूनी प्रक्रिया पूरा गरी बालिकाको शव अस्पतालबाट उठाई शव परीक्षण गरी अन्तिम संस्कार गर्ने सहमति समेत भएको छ । फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा हिजो बिहान मृत्यु भएपछि जिल्ला अस्पताल तनावग्रस्त बनेको थियो ।

    प्रशासनले अस्पताल क्षेत्रको सुरक्षालाई ध्यान दिइ नियन्त्रणमा नलिँदा उत्तेजित भीडले गरेको आगजनीमा अस्पतालका संरचनामा ठूलो क्षति पुगेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय