• कांग्रेसको नेतृत्व गर्ने पालो अब काठमाडौंको : प्रकाशमान सिंह

  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा यतिका वर्ष काठमाडौंबाहिरका नेताहरू सभापति बनेको र यसपालि पार्टीको नेतृत्व गर्न पालो काठमाडौंको रहेको बताएका छन् ।

    मंसिर ९ देखि १३ गतेसम्म आयोजना गरिएको पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका सिंहले काठमाडौंका कांग्रेस कार्यकर्ताले कहिलेसम्म अरुको झोला बोक्ने भन्दै प्रश्न गरे

    ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ?’ नेता सिंहले प्रश्न गर्दै भने, ‘के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने?’

    उनले १३औं महाधिवेशनमा आफूले रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको स्मरण गर्दै सधैं त्याग मात्र नहुने बताए।

    ‘त्याग नै त्याग भनेर मात्र हुन्छ? १३औं महाधिवेशनम मैले रामचन्द्र पौडेललाई छाडेकै हो,’ उनले भने, ‘म पहिले महामन्त्री जितेको हुँ। बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ।’

    नेता सिंहले नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको पनि औंलाए । पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको आरोपसमेत लगाए ।

    ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नुभएन,’ उनले भने, ‘पार्टीलाई संस्थागत गर्नुपर्छ। कांग्रेसमा गुट नै गुट छ । अहिले ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेस भएको छ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय