• प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

  • प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने लिने भएका छन् । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ ।

    गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

    मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गर्नुभएको थियो । आजदेखि नै प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको छ । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो ।

    जसपाले जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर आज मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । अहिले प्रदेश नं २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार छ भने नेकपा (एकीकृत समाजवादी)ले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ । यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाका १०४ सदस्यमध्ये दुईतिहाइभन्दा बढीको बहुमत छ ।

    प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक गरी जम्मा ८० सदस्यको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले बताए । लोसपा र नेकपा (एमाले) प्रदेश सरकारको विपक्ष रहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस