काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले चारवटा मन्त्रालय पाएको छ । सत्ता साझेदार दल जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक बसेको थियो । पार्टीका नेता राजकिशोर यादवका अनुसार बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको पार्टी संसदीय दलको नेतासमेत रहेका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठकमा जानकारी गराएका हुन् । पार्टीको भागमा परेको मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष यादलाई दिइएको छ ।
अध्यक्ष यादवले बुधबारका लागि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने जनाइएको छ ।
वर्तमान सरकारमा जसपा अध्यक्ष यादव भने सहभागी नहुने भएका छन् । एक सांसदका अनुसार जसपाको भागमा चार मन्त्रालय मात्र परेको हुनाले यादव सरकारमा नजाने लगभग निश्चित भएको हो । उपप्रधानमन्त्री सहित चारवटा मन्त्रालय दिएको भए यादव सरकारमा जाने सम्भावना थियो । तर उपप्रधानमन्त्री नपाएपछि उनी आफै सरकारमा नजाने लगभग पक्का भएको स्रोतको भनाई छ ।
पार्टीका शीर्ष नेता डा.बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाने कुराकानी भएको बताइएको छ । उनीहरुले सरकार र संगठनमाथि निगरानी गर्ने छलफलमा उठेको ती सांसदको भनाई छ । तर भोलि कार्यकारिणी समितिको बैठकमा पनि छलफल भएपछि यादवले अन्तिम निर्णय लिने भएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।