काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि ‘दुई मन्त्रालय भागमा’ राखेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल असन्तुष्ट बनेको छ ।
यसअघिको ओली सरकारमा जाने विषयमा विवाद हु्ँदा दलविहीन बनेका महन्थ ठाकुरलाई अध्यादेश ल्याएर दल निर्माणेका अवसर दिएका देउवाले मन्त्रालय नै दिन लागेपछि सत्ता गठबन्धनमा असन्तुष्टि देखिएको हो ।
प्रधानमन्त्री देउवालाई ठाकुरसहितको समूहले पनि संसद्मा विश्वासको मत दिएको थियो । जसपाले कार्यकारिणी समितिबाट मात्र कारबाही गरेका कारण महन्थ ठाकुरसहितको सांसद पद नगएकाले उनीहरुले देउवाले मत दिएका हुन् । देउवाले त्यही गुन ठाकुरलाई तिर्न खाजेको जसपाले अर्थ्याएको छ ।
मंगलबार (आज) बालुवाटारमा बसेको बैठकमा पाँच दलको सत्ता गठबन्धनबीचको बैठकमा मन्त्रालय भागबन्डाबारे लगभग सहमति भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो ।
सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबाहादुर कार्कीले मंगलबार बसेको बैठकले मन्त्रालयको भागबन्डा टुङ्ग्याएको बताए । तर, कुन दललाई कति मन्त्रालय भएर उनले खुलाएका छैनन् ।
स्रोतका अनुसार कांग्रेसको भागमा ६ मन्त्रालय परेको छ । जसमा एक राज्यमन्त्रीसहित कांग्रेसका चारजना मन्त्री भइसकेका छन् । जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले चार–चार मन्त्रालय पाउनेछन् भने माओवादी केन्द्रले पाँच मन्त्रालय पाउने भएको छ ।
माओवादीका यसअघि दुईजना मन्त्री बनिसकेका छन् । अब विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्रका तर्फबाट थप तीनजना मन्त्री बन्नेछन् । बाँकी रहेका दुई मन्त्रालय भने प्रधानमन्त्री देउवाले नै राख्ने तयारी रहेको स्रोत बताउँछ । यदि लोसपा सरकारमा आउने र प्रधानमन्त्रीले पनि नियुक्ति दिने सुनिश्चित भएमा जसपाले आधिकारिक धारणा सार्वजनिक गर्ने बुझिएको छ
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।