• अक्सिजनको मात्रा घटेमा के गर्ने ?

    २०७८ बैशाख २६, आईतवार २०:२४ मा प्रकाशित
  • डा. अनुप सुवेदी
  • घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्नुपर्छ ?
    (अस्पतालमा भर्ना गरेर अक्सिजन, अन्य उपचार लिन नपाउँदा)

    उत्तरः स्टेरोइड औषधि खान सुरु गरिहाल्ने । यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधि हो ।

    याद रहोस्, अक्सिजन नघटी यो सुरु गरे हानि हुन सक्छ, तर अक्सिजन घट्न थाल्नेबित्तिकै यो औषधि सुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ ।

    अक्सिमिटरले अक्सिजनको लेभल ९२ वा त्योभन्दा कम देखायो (मेसिन औँलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ ।

    कि त Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटि दिनको १ पटक । कि त Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटि दिनको १ पटक । कि त Tab Prednisolone 40 mg दिनको १ पटक खानापछि खाने ।

    यो औषधिले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधिको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ ।

    औषधि खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोसिस गर्न भने छोड्नु हुँदैन । तर, यो औषधि सुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय गुजार्न सकिने र केहीलाई चाहिँ अक्सिजन सुरु गर्नै नपर्ने हुन सक्छ ।

    यी औषधि बजारमा प्रशस्त छन् । सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन । अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं ।

    असाध्यै जटिल बन्दै गएको परिस्थितिमा, अस्पताल भर्ना गरेर उपचार गर्न नपाएर छटपटाइरहेका दर्जनौँलाई यसैगरी उपचार गर्न सल्लाह दिइरहनुपरेकाले अरू असङ्ख्य मानिस यस्तै परिस्थितिमा भएको आकलन गर्दै, सायद नेपाल मेडिकल काउन्सिलका केही नियम तोड्दै, लेख्नैपर्ने भएकाले यो लेख्दै छु ।

    डा. सुवेदीको ट्विटरबाट

    सिफारिस
    लोकप्रिय