• सवारी ज्यान मुद्दाका प्रतिवादी २१ वर्षपछि पक्राउ

  • जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई २१ वर्षपछि पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२ वर्षीय आनन्दराज शाहलाई आइतबार पक्राउ गरेको हो ।

    जिल्ला अदालतको विसं २०५७ साल वैशाख २८ गतेको फैसलाले ११ महिना पाँच दिन कैदको फैसला सुनाएपछि शाह फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका शाहलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

    त्यसैगरी वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका दुई जनालाई समेत तोकिएको जरिवाना रु दश हजार भुक्तानको लागि अदालतमा उपस्थित गराइएको उनले बताए । तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस