• निर्वाचन अधिकृत गायब भएपछि बझाङमा कांग्रेस अधिवेशन स्थगित

  • बझाङ। नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायब भएपछि नेतृत्व चयन स्थगन भएको छ ।

    जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि पार्टीको सम्पर्कमा नरहेको नेताले बताएका छन् ।

    जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा चलिरहेका बेला नेतृत्व चयन स्थगन भएको हो ।

    पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजङ्गबहादुर सिंह, पूर्वजिल्ला सभापति सत्यराज भण्डारी र संविधानसभा सदस्य चन्द्रा जोशीको पक्षबाट खडक बोहरा सभापतिका उमेदवार छन् ।

    अर्को समूहबाट रमेश भण्डारी सभापतिका दाबेदार छन् । भण्डारीलाई पूर्वराज्य मन्त्री नरेशबहादुर सिंह तथा जिल्ला सभापति पृथ्वी सिंहको समर्थन छ ।

    चुनावी प्रतिस्पर्धामा आफूले समर्थन गरेको उम्मेद्वारले हार्ने देखिएपछि नरेशबहादुर सिंह तथा पृथ्वीबहादुर सिंह समर्थनका नेता कार्यकर्ताले मतदान अधिकृतलाई जिल्ला छोड्न बाध्य पारिएको अर्को पक्षको आरोप छ ।

    तर त्यो आरोपमा कुनै सत्यता नभएको, उल्टै मतदान अधिकृत भट्टले भौतिक आक्रमणको धम्की आएको भन्दै गुनासो गरेको नेता नरेशबहादुर सिंहले बताए।

    प्रमुख मतदान अधिकृत भट्टलाई पृथ्वीबहादुर तथा नरेशबहादुर पक्षबाट शुक्रबार तुरुन्त जिल्ला छोड्नुपर्ने अन्यथा हात खुट्टा भाँच्ने धम्की आएकाले मतदान अधिकृतले जिल्ला छोड्नुपरेको कांग्रेसको अर्को पक्षले आरोप लगाएको छ ।

    आरोप निराधार भएको नेता नरेशबहादुरको दाबी छ । प्रमुख मतदान अधिकृत भट्टसँग भने सम्पर्क भएको छैन । उनको मोबाइल स्वीच अफ छ ।

    जिल्ला अधिवेशनका लागि आएका प्रमुख मतदान अधिकृत नै सम्पर्कविहीन भएपछि बझाङको जिल्लास्तरको नेतृत्व चयन गर्न तथा मतदान गर्न सदरमुकाम आएका नेता कार्यकर्ता घर फर्केका छन् । अधिवेशन कहिले हुने भन्ने अनिश्चित भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस