• ओलीलाई अनुकूल हुनेगरी विधान संशोधन गर्दै एमालेको विधान महाधिवेशन सकियो

  • काठमाडौं। नेकपा एमालेको विधान महाविधेशन अध्यक्ष केपी शर्मा ओलीलाई आगामी कार्यकालका लागि पनि अध्यक्ष बन्न बाटो खुला गर्दै सम्पन्न भएको छ ।

    विधान महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी स्थानीय, प्रदेश र संघीय तहका चुनावमा केन्द्रित हुन पार्टीको सम्पूर्ण निकायहरूलाई निर्देशन दिएका छन्।

    उनले एमालेको विभाजनले आगामी निर्वाचनमा ठूलो ठूलो असर नगर्ने भन्दै विपक्षीहरूले गर्नसक्ने ‘धाँधली’ बारे सतर्क रहन निर्देशन दिए ।

    नेकपा एमालेले आगामी मङ्सिरमा पार्टीको नयाँ नेतृत्व चयनका लागि दशौँ महाधिवेशन गर्दैछ । त्यसअघि नै जिल्ला र स्थानीय तहको नेतृत्व छनौटका लागि अधिवेशनहरू हुनेछन् । ओलीले अब हुन लागेका निर्वाचनहरू जित्नु पार्टीको प्रमुख कार्यभार हुने बताए ।

    उनले भने, ‘हामीले अब स्थानीय तहको निर्वाचन जित्नैपर्नेछ । संघीय र प्रदेश तहका निर्वाचन जित्न पर्नेछ । सकेसम्म सबै प्रदेश सरकार र केन्द्रीय सरकारमा फेरि हामीले आफ्नो वर्चस्व जमाउनुपर्नेछ । केन्द्रीय सरकार एमालेको बहुमतको सुदृढ सरकार बनाउनुपर्नेछ ।’

    संविधान जारी भएपछि निर्वाचित भएको स्थानीय तहको पाँच वर्षे कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । प्रदेश र केन्द्रीय तहको चुनाव अब करिब डेढ वर्ष बाँकी छ ।

    ओलीले तल्लो तहका अधिवेशनहरू गर्दा आगामी चुनाव जित्ने खालका संगठनहरू निर्माण गर्न अधिवेशन प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए ।

    उनले सरकार बनेको अढाई महिना बित्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको, तुइन काण्ड लगायतका घटनामा राष्ट्र हितमा अडान लिन नसकेको भन्दै सरकारको कडा आलोचना गरे ।

    अध्यक्ष ओलीले नेकपा एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) मा गठन गरेका नेता कार्यकर्तालाई ‘बिग्रिएका मान्छे’ को संज्ञा दिए।

    विधान अधिवेशनले हाल ७० वर्ष पुगेका ओलीलाई पुनः पार्टीको अध्यक्ष बन्न बाटो खुला गरेको छ ।
    विधानमा गरिएको व्यवस्था अनुसार नेकपा एमालेको कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाइने छ ।

    छलफलमा उठेका प्रश्नको जवाफ दिदैँ पार्टीका उपमहासचिव विष्णु पौडेलले कार्यकालको बीचमै ७० वर्ष पुगेपनि त्यस्ता पदाधिकारीले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गरिएको बताए ।

    यसको अर्थ एमालेको दशौं महाधिवेशनले अहिलेकै अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तरता दिए उनले पूर्ण कार्यकाल पार्टी अध्यक्षको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

    पौडेलले पार्टी पदाधिकारीको संख्या १५ र स्थायी कमिटी सदस्यको संख्या ४५ रहने जानकारी गराए ।
    पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहनेछन्।

    तर अब एउटै कार्यकारी पदमा दुई पटक भन्दा बढी उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय