नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदको गतिरोध अन्त्य गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चरकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री र सभामुखले नेकपा एमालेसँग प्रत्यक्ष संवाद नगरेसम्म गठबन्धनका दलहरु सम्मिलित बैठकमा नजाने प्रष्ट पारेका हुन् ।
‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन्, ती मुद्दाहरुको बारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकाले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगयो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैलाई साक्षी राखेर हामीसँग उहाँले बहस गर्नुपर्दैन । त्यो जरुरी हामी ठान्दैनौँ । सिधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुल्ला छौँ । त्यसकारण आजको बैठकमा हामी गएनौं,’ भट्टराईले भने ।
राजनीतिक दल विभाजनसम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानून विपरित, संविधान विपरित र नैतिक दृष्टिकोणले पनि उचित नभएको उनको भनाइ छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।