काठमाडौं – संघीय संसद्मा जारी अवरोध अन्त्यको प्रयास गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज(बिहीबार) बिहान १० बजे संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएका हुन् । आजको बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
२३ भदौमा सुरु भएको संसद्को चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ ।
एमालेकै अवरोधबीच सरकारले बजेट पास गरेको थियो । संसद्मा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमा छन् भने एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।