काठमाडाैं। युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ ।
महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्याइ घृणा फैलाउने सामग्री प्रसारण गरेको भन्दै विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी र हरेकपलको खबर युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका घर भई काठमाडौंको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी रहेका ब्युरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
यस्तै सराइचुली युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौंको पेप्सिकोला बस्ने ३५ वर्षीय पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा मेलुङ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पनि पक्राउ परेका ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
पक्राउ परेका उनीहरुमाथि आजै काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । ब्युरोमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको छ ।
पछिल्लो समयमा युट्युब च्यालनका सामग्रीमाथि धेरै प्रश्न उठ्ने गरेको छ । कतिपय यस्ता च्यानलले प्रसारण गर्ने सामग्रीमा स्रोतको उल्लेख नहुने गरेको, सत्यतथ्यमा आधारित नरहेको तथा मानिसको चरित्रहत्या गर्ने र व्यक्तिगत विषयसमेत सञ्चारमाध्यामबाट सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ ।
पत्रकार आचारसंहिताकोसमेत ख्याल नगरिएकोसमेत पाइएको जनाइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।