• कर्मचारी नभएपछि राजधानीकै वडामा समयमा हुँदैन काम

  • काठमाडाैं। नागरिकको घर आँगनमै सिंहदरबार पुर्‍याइएको भन्दै स्थानीय सरकारलाई बलियो बनाउने कानूनी संरचना रहे पनि कर्मचारीको अभावमा काम हुन नसकेको जनप्रतिनिधिले गुनासो गरेका छन्।

    कानूनी संरचना बलियो बने पनि राजधानीका वडामा कर्मचारीको अभावमा काम हुन सकेको छैन । काठमाडौँ महानगरपालिका–५ मा इञ्जिनीयर नहुँदा विकास निर्माणको बजेट नै फ्रिज भएको वडाध्यक्ष रमेश डङ्गोलले बताए ।

    इञ्जिनीयरलगायत कर्मचारी नहुँदा आर्थिक वर्ष २०७७/७८ को विकास निर्माणका लागि वडामा आएको २५ लाख बजेट फ्रिज भएको उनले जानकारी दिए ।

    ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण हाँडीगाउँ र विशालनगर क्षेत्र भएको वडाका विकास निर्माणका काम प्रभावित भएका छन् ।

    वडा कार्यालयमा ६ महिनादेखि कार्यालय सहयोगी छैन । खरिदार नभएको एक महिना भयो । डेढ वर्षदेखि इलेक्ट्रिसियन पद खाली छ । इलेक्ट्रिसियन नभएपछि आफूले खल्तीबाट ८५ हजार हालेर ज्यालादारीमा इलेक्ट्रिसियनको काम गराएको वडाध्यक्ष डङ्गोलले सुनाए।

    कार्यालय सञ्चालन गर्न आवश्यक जनशक्ति नै नभएपछि काममा कठिनाइ भएको छ । स्थानीय श्याम महर्जजन जनप्रतिनिधिले विकास निर्माणका काम गर्न खोजे पनि जनशक्तिको अभावमा काम हुन नसकेको बताउछन्।

    ‘महानगरपालिकाले आवश्यक कर्मचारी नदिँदा विकास निर्माणको काम प्रभावित भएको छ, तीन महिनाअघि सरुवा गरी वडामा पठाएका इञ्जिनीयरलाई दुई महिनामै अन्यत्र पठाइयो, कर्मचारीलाई सरुवा गरेको दुई वर्षसम्म त्यही कार्यालयमा काम गर्न दिनुपर्ने नियम पनि महानगरपालिकाले मिचेको छ, काम गर्ने इञ्जिनीयर वडामा आएको दुई महिनामै सरुवा गरेपछि एक महिनादेखि प्राविधिक काम ठप्प भएको छ’, उनले भने ।

    हाँडीगाउँ, विशालनगरलगायत सांस्कृतिक सहर रहेको वडामा पूर्वाधार विकास गरेर पर्यटन प्रवर्द्धन गर्न सकिने भए पनि महानगरपालिकाको ध्यान नगएको वडाबासीको दुःखेसो छ ।

    पहिलेका इञ्जिनीयरले काम नगरेपछि आएका नयाँ इञ्जिनीयरलाई दुई महिनामै सरुवा गरेर महानगरपालिकाले सांस्कृतिकस्थलको विकासमा अवरोध गरेको वडावासी मंगलबहादुर श्रेष्ठको भनाइ छ ।

    तीन महिनाअघि वडामा काम गरेका इञ्जिनीयर ११ः१५ बजे कार्यालय प्रवेश गरेर २ बजे अघि नै निस्कने गरेको जनप्रतिनिधिको गुनासो छ ।

    वडामा आएर राम्रो काम गरिरहेका इञ्जिनीयरलाई दुई महिनामै सरुवा गर्न उठाइएको टिप्पणी र सदर गरेको फाइल महानगरपालिकाका प्रशासन प्रमुख युवराज खनालले देखाउन नसकेको वडाध्यक्ष डङ्गोलको भनाइ छ ।

    प्रशासन प्रमुख खनालले माथिको आदेशमा सरुवा गरेको भन्दै फाइल नदेखाएको उनले बताए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय