धनुषा । धनुषामा हत्या आरोपित एक वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का अध्यक्ष कुशेश्वर ठाकुरले स्थानीय सुमिन्त्रादेवी यादवलाई कुटपिट गरी हत्या गरेका थिए । उनले सोही वडाका ईलाका प्रहरी कार्यालय सबैलामा आत्मसमर्पण गरेका हुन् । गत वैशाख १३ मा सडक विस्तारका लागि जग्गाको सीमाना खोजबिनको गर्ने क्रममा भएको विवादमा सुमिन्त्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।
फरार रहेका वडाध्यक्ष कुशेश्वर ठाकुरले लामो समयपछि आत्मसमर्पण गरेका हुन् । सो घटनाको ज्यान मार्ने उद्योगका १० जना आरोपितमध्ये उनले धेरै पछि प्रहरीको सम्पर्कमा आएका हुन् ।
सो घटनामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रंजित यादवसमेत गम्भीर घाइते भएका थिए । उपचारको क्रममा सुमित्राको मृत्यु भएपछि परिवारजनले वडाध्यक्ष कुशेश्वरसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएका थिए ।
मोरङ प्रहरीले सो मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सबैलालाई गत जेठ १६ मा पठाएको थियो । फरार आरोपीमध्ये वडाध्यक्ष आफै हाजिर भएको इप्रका सबैलाका प्रमुख राजेश सिग्देलले जानकारी दिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।