• चाडपर्वलाई खाद्यान्न र उपभोग्य सामग्रीमा ध्यान दिन निर्देशन

  • काठमाडाैं। संसदीय समितिअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।

    सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीको पर्याप्तता, सुपथ मूल्य पसल र बजार अनुगमनमा ध्यान केन्द्रित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

    समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बजारमा काठमाडौंमा चिनी र दुर्गमका जिल्लामा खाद्यान्न अभाव भएको जानकारी आएको भन्दै तत्काल आपूर्तिको व्यवस्था गर्न निर्देशन दिए।

    उनले विभिन्न पत्रपत्रिकामा दुर्गमका जिल्लामा कुहिएको चामल पठाइएको र केही जिल्लामा दसैंका लागि खाद्यान्न अभाव भएको सुनिएको भन्दै जानकारी माग गरेका थिए।

    समितिका सदस्यले चाडपर्वको समयमा बजारमा हुने कालोबजारीमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका थिए। समितिका सदस्य देवेन्द्र पौडेलले राज्यले दिएको छुट उपभोक्ताले अनुभूति गर्न नसकेको भन्दै सुपथ मूल्यका पसलमा पर्याप्त खाद्यान्नको बिक्री वितरणमा जोड दिएका थिए।

    उनले सरकारी संस्थान काठमाडौं उपत्यकामा मात्र केन्द्रित भएको भन्दै दुर्गमका जिल्लामा पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात राख्नुपर्नेमा जोड दिए।

    सदस्य किसानकुमार श्रेष्ठले विदेशी वस्तुको आयातलाई कम गर्न स्वदेशी वस्तुको खपतमा केन्द्रीत हुनुपर्ने बताए।

    पर्याप्त मौज्दात : वाणिज्य सचिव

    सरकारले चाडपर्वका लागि खाद्य सामग्री मौज्दात पर्याप्त मात्रामा रहेको भन्दै अभाव नहुने जनाएको छ ।

    समितिमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले अभाव नहुने बताएका हुन्।

    उनले सरकारी कम्पनी तथा निजी उद्योगी व्यवसायीसँगले दिएको तथ्यांकअनुसार चिनी, तेल तथा चामलको मौज्दात पर्याप्त रहेको बताउँदै बजारमा हल्ला भएअनुसार अभाव नभएको बताए।

    समितिका सदस्यको प्रश्नको जवाफ दिँदै साल्ट ट्रेडिङ कर्पाेरेशनका महाप्रबन्धक उर्मिला श्रेष्ठले कम्पनीसँग मौज्दात रहेको चिनी सकिएपछि काठमाडौंमा मात्रै बिक्री वितरण गर्नुपरेको बताइन्।

    उनले भन्सार छुटमा चिनी आयातको अनुमति नपाउँदा कम्पनीसँग रहेको मौज्दात चिनी सकिएपछि काठमाडौँमा मात्रै बिक्री वितरण गर्नुपरेको स्पष्ट पारिन्।

    ‘हामीले धरै अगाडीदेखि नै मन्त्रालयमा चिनीको मौज्दात सकिन लागेको र थप खरिदको अनुमति माग गरेका थियौं । भन्सार छुटमा चिनी खरिदको अनुमति नपाएपछि हामीले जति मौज्दात छ सोही नै बिक्री वितरण गर्दै आएका छौं’, उनले भने, ‘दुर्गमका जिल्लामा नूनको भण्डारण भइसकेको छ । हामीसँग ११ महिनाका लागि पुग्ने नून मौज्दात छ, अभाव छैन ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय