सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागी सरकारले आवश्यक सबै उपाय अवलम्वन गरिरहेको बताएका छन् ।
आईतबार बिहान बालाजु स्थित जनमैत्री कोभिड अस्पतालको अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले निजी अस्पतालहरुमा पनि सहज रुपमा कोरोना उपचारका लागि राज्यले आवश्यक सहयोग र समन्वय गर्ने बताए । उनले देशभरका ठुला निजी अस्पतालहरुलाई आपतकालिन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधीक सहयोग राज्यले गर्ने बताए ।
यस महामारीको अवस्थामा स्वास्थ्य क्षेत्रमा अक्सिजनको अति आवश्यक रहेको हुँदा अन्य क्षेत्रमा अक्सिजनको खपत नगरिदिनु हुनु उद्योगी तथा व्यवासयीहरुलाई आग्रह गरे । राज्यमन्त्री मानन्धरले कोभिड उपचारमा अक्सिजनको अभाव हुन नदिन सरकारले काम गरिरहेको बताउदै केही दिन भित्रै अक्सिजनको समस्या समाधान हुने बताए । सरकारले संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गरेको बताउदै सबैले पालना गरेमा केही दिनमा माहामारी नियन्त्रणमा आउने बताए ।
महामारी नियन्त्रणका लागि अग्रपंतीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्बद्ध व्यक्तीको राज्यले उच्च मुल्यांकन गरेको बताउदै मन्त्री मानन्धरले उनिहरुको सेवा सुविधा र परिवारको सुरक्षा प्रति राज्य गम्भीर रहेको बताए । हरेक नागरिकको जिवन रक्षा सरकारको प्राथमिकता भएको बताउदै उहाँले उपचारका क्रममा समस्या भएमा राज्यको निकायमा सम्पर्क गर्न अनुरोध गरे ।
बालाजु स्थित जनमैत्री अस्पतालमा आजै देखि ३० बेडको कोरोना अस्पताल सञ्चालन हुन लागेको र केही दिन भित्र ४० बेडको आइसियु सहित १२० वेड सञ्चालनमा ल्याईने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिए । गत बर्ष भदौ देखि पुषसम्म कोभिडका बिरामीको उपचार गरेर अस्पताल बन्द भएको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।