काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन्।
उनले भनिन्, ‘साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैलाउनुपर्छ ।’
उनले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी दिनमा भने स्थानीय तह, जिल्ला समन्वय समिति समन्वय गरी प्रदेशलाई पूर्ण रुपमा साक्षर बनाउने बताइन् ।
उनले विगतमा बेलुकाको समयमा मात्र प्रौढकक्षा पढ्नुपर्ने महिलाको बाध्यता भए पनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने बताइन् । जिल्लास्तरका सबै निकाय साक्षर अभियानमा लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाक्यले घोषणाको काम सकिए पनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने उल्लेख गरिन्।
प्रदेशका १५ देखि ६० वर्षबीचका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भइसकेकाले एउटा सन्देश प्रवाह गर्न बागमतीलाई साक्षर प्रदेश घोषणा गरिएको प्रदेश शिक्षा निर्देशनालय बागमती प्रदेश हेटौँडाका निर्देशन चन्द्रप्रसाद लुइँटेलले जानकारी दिए।
उनका अनुसार अब भने १५ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकहरूलाई पनि साक्षर बनाउने कार्यलाई तीव्रताका साथ पहल गरिनेछ । प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, मन्त्रालय र निर्देशनालयका कर्मचारीलगायतको सहभागिता थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।