

संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरूलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतवार सिंहदरवारमा बसेको बैठकले कोरोना भाइरसका कारण चीनबाट फर्किएर अलपत्र अवस्थामा बसेका विद्यार्थीहरूलाई तत्काल कूटनीतिक पहल गरी पुनः अध्ययनका लागि चीन पठाउने आवश्यक व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर कूटनीतिक पहल गरी अलपत्र परेका हजारौं विद्यार्थीहरूलाई पुनः अध्ययनका लागि चीन पठाउने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीमगरले जानकारी दिइन् ।
‘परराष्ट्र मन्त्रालयमा अहिले हामी तत्काल बस्ने भन्दा पनि मन्त्रालयले एक पटक छलफल गरोस् र कूटनीतिक पहल गरेर विद्यार्थीहरूलाई पढ्न पठाउने व्यवस्था शिक्षा मन्त्रालयले गरोस् । परराष्ट्र मन्त्रालयसँग कोअर्डिनेशन गरेर त्यो अगाडि बढाओस् । हजारौं विद्यार्थीहरू अलपत्र परेका छन् । उनीहरूको भविष्य डामाडोल भएको छ,’ उनले भनिन् ।
बैठकमा समितिका सदस्यहरूले चीनमा अध्ययनका लागि पुनः जान नपाएका विद्यार्थीहरूको समस्या तत्काल समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सचेत गराएका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले ३ दिनभित्र चीन अध्ययनका लागि पुनः जाने व्यवस्था विद्यार्थीहरूलाई मिलाउन सरकारलाई दबाासमेत दिए ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले संसदीय समितिले दिएको निर्देशनअनुसार चीनमा अध्ययनका लागि पुनः जाने विद्यार्थीहरूको आवश्यक व्यवस्था तत्काल मिलाउने प्रतिबद्धता जनाए । उनले हाल चीनमा मात्रै अध्ययन गर्ने जाने विद्यार्थीहरुको संख्या ७ हजार ४८० जना रहेको जानकारी पनि समितिलाई गराए ।
सहसचिव लम्सालले सरकारले सम्बन्धित विश्वविद्यालयसँग बुझेर मात्रै नेपाली विद्यार्थीहरूलाई अध्ययनका लागि विभिन्न देशमा पठाउन अनुमति दिने गरेको पनि स्पष्ट पारे ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
