एजेन्सी। अमेरिकाको आग्रहमा क्यानडामा पक्राउ परेकी चिनियाँ टेलिकम कम्पनी हुवावेकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जु स्वदेश फर्किएकी छन् ।
उनी सन् २०१८को डिसेम्बरमा पक्राउ परेकी थिइन् । ठगीको आरोपमा पक्राउ गरेर हुवावेका संस्थापककी छोरी वान्जुलाई क्यानडामै नजरबन्दमा राखिएको थियो ।
वान्जु पक्राउ परेको घटनाले चीनको अमेरिका र क्यानडासँगको सम्बन्धमा तनावपूर्ण बनेको थियो ।
सम्झौतापछि शुक्रवार अमेरिकाको विदेश मन्त्रालयले उनको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उनी रिहा भएकी हुन् ।
वान्जुको पक्राउको बदलामा चीनले क्यानडेली नागरिकहरूलाई पक्राउ गरेको थियो । चीनले त्यसलाई अस्वीकार गर्दै आए पनि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा थुनामा रहेका दुई क्यानडेली नागरिक स्वदेश फर्कँदै गरेको बताएका छन्।
वान्जु पक्राउ परे लगत्तै उनीहरूलाई जासुसीको आरोपमा चीनले पक्राउ गरेको थियो ।
‘यो समय मेरो जीवनमा निकै विध्वंसात्मक रह्यो । यसले मेरो जीवनमा निकै उथलपुथल ल्याएको छ’, क्यानडामा थुनामुक्त भएपछि उनले भनिन्, ‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ। विश्वभरका मानिसहरूबाट प्राप्त शुभेच्छाहरूलाई म कहिल्यै बिर्सने छैन ।’
वान्जु एयर चाइनाको विमानमार्फत सेन्जेन सहर फर्किएकी छन् । वान्जुलाई छुटाउन अमेरिका र चीनबीच भएको सम्झौताको विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन् । दुई देशका कूटनीतिज्ञबीचको समझदारीबाट त्यसको टुंगो लगाइने बताइएको छ।
विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवावेमाथि बैंकमा ठगी गरेको, न्यायमा बाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको आरोप छ ।
अमेरिकाले वान्जुले इरानको स्काइकम कम्पनीसँग हुवावेको सम्बन्धबारे झुटो विवरण पेस गरेर विश्वकै ठूलो मध्येको एचएसबीसी बैंकलाई अमेरिकी प्रतिबन्ध उल्लंघनको जोखिममा पारेको आरोप लगाएको छ ।
अमेरिकाको न्यायालयले वान्जुमाथि लगाइएको अभियोजन तत्काललाई अघि नबढाउने सहमति भएको बताएपछि उनी रिहा भएकी थिइन् । अब उनीमाथि लागेको मुद्दा कम्तीमा सन् २०२२ को डिसेम्बरसम्म अघि बढाइने छैन ।
अदालतले राखेका सर्तहरूमा उनी सहमत भएको अवस्थामा मुद्दा फिर्ता पनि हुनसक्छ ।
उनलाई रिहा गर्न दुई पक्षबीच भएको सहमतिमा उनले आफूले गल्ती गरेको अस्वीकार गरे पनि अमेरिकाले लगाएका आरोपहरू स्वीकार गर्नुपर्ने उल्लेख गरिएको बताइएको छ ।
क्यानडेली अभियोजनकर्ताहरूले भ्यान्कुभरको अदालतलाई उनलाई अमेरिकामा सुपुर्दगी गर्ने निर्णय फिर्ता लिइएको जानकारी गराउँदै उनको रिहाइको आदेश माग गरेका थिए । लगत्तै न्यायाधीशले उनलाई रिहा गर्न आदेश दिएका थिए ।
उनी भ्यान्कुभरमै रहेको दशौं लाख डलरको एउटा घरमा झन्डै तीन वर्षदेखि नजरबन्दमा थिइन् । वान्जु अदालत जाँदा चिनियाँ महावाणिज्य दूतावासका अधिकारीहरू पनि सँगै देखिएका थिए ।
सम्झौताअनुसार उनले एचएसबीसी बैंकलाई जानाजान गलत विवरणहरू दिएको स्वीकार गरेकी छन् । अमेरिकाको न्यायालयले वान्जुले विश्वकै ठूलोमध्येको वित्तीय संस्थालाई ठगी गर्ने योजनामा संलग्न भएको स्वीकार गरेको जनाएको छ ।
वान्जूको रिहाइपछि पनि हुवावेविरुद्धका मुद्दाहरूमा सुनुवाइ जारी रहने बताइएको छ ।
इरानसँग व्यापार गर्न हुवावेले उनका दुई सहायक कम्पनीहरू ह्वावेइ डिभाइस यूएस र स्काइकम टेकसँगको आफ्नो सम्बन्धबारे अमेरिका र विश्व बैंकलाई ढाँटेको भन्ने अभियोग हुवावेमाथि लागेको थियो ।
चीनले उनको रिहाइको माग गर्दै उक्त गिरफ्तारी अधिकारको दुरुपयोग हुनसक्ने बताएको थियो ।
वान्जु १ डिसेम्बर, २०१८मा भ्यान्कुभरबाट पक्राउ परेकी थिइन् । जुन दिन तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिनबीच जी–२० सम्मेलनको अवसरमा अर्जेन्टिनामा दुई पक्षीय व्यापारबारे कुराकानी हुँदै थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।