• कांग्रेस पार्टी कार्यालयहरू कोभिड अस्पताल र गाडी एम्बुलेन्समा रुपान्तरण

    nepali congress flag
  • नेपाली कांग्रेसले आफ्ना जिल्ला पार्टी कार्यालयहरूलाई एकपछि अर्को गर्दै अस्थाइ कोभिड अस्पताल, आइसुलेसन सेन्टर तथा क्वारेनटाइनका रुपमा रुपान्तरण गर्न थालेको छ । अहिलेसम्म करिब एक दर्जन जिल्लाका पार्टी कार्यालय तथा वडास्तरीय कार्यालयहरु कोभिड अस्पताल तथा क्वारेनटाइनको रुपमा रुपन्तारण गरिएको नेपाली कांग्रेस पार्टी सचिवालयले जनाकारी गराएको छ ।
    पहिलो लहरको कोरोना संङक्रकमणको बेला पार्टीको तर्फबाट सरकारी कोषमा ५० लाख रुपैयाँका साथै सबै सांसदहरूले आधार महिनाको तलब उपलब्ध गराएर सहयोग पुर्‍याएको थियो भने दोस्रो लहरमा अस्पताल र क्वारेनटाइनहरूको अत्याधिक अभाव हुन थालेपछि रचनात्मक काम गरिएको कांग्रेसले जनाएको छ ।

    पर्वत पार्टी कार्यालय कोभिड अस्पताल
    पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाएको छ । संक्रमणदर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन बिपी स्मृति भवनलाई कोभिड-१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको जानकारी गराएको छ ।
    नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले बताए । सुविधासम्पन्न यो भवनमा ५० शय्यासम्म राखेर सङ्क्रमितको उपचार गर्न सकिने उनको भनाइ छ ।
    सदरमुकाम कुश्माबजारकै मुख्य भागमा रहेकाले यो भवनमा अस्पताल बनाउँदा सवैलाई सहज हुने जोशीले बताए ।

    स्याङजा कार्यालय बन्यो आइसोलेसन सेन्टर
    कांग्रेस स्याङ्जा पार्टी कार्यालयलाई आइसोलेसन कक्ष बनाइएको छ । कोभिड १९ सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि आइसोलेसन वा कोभिड अस्पताल बनाउन पार्टी कार्यालय प्रयोग गर्न दिने निर्णय भएको कांग्रेस कार्यबाहक सभापति बुद्धिबहादुर रानाले जानकारी गराएका छन् ।
    स्याङ्जा सदरमुकामस्थित अभियानपथमा रहेको भवनमा स्थानीय, प्रदेश, केन्द्रीय सरकार वा अन्य कुनै पनि गैह्रनाफामुखी संस्थाले आइसोलेसन कक्षकारूपमा प्रयोग गर्न चाहेमा तत्काल दिने उनले जानकारी गराए ।

    रुपेन्देहीले बनायो कोभिड अस्पताल
    कांग्रेस जिल्ला पार्टी कार्यालय रुपन्देहीले भैरहवामा रहेको पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिएको छ । अस्पतालमा बिरामीको लागि बेड अभाव भइरहेका बेला जिल्ला पार्टी कार्यालयले यस्तो निर्णय लिएको हो ।
    कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडि २ वटा हल, ११ कोठाको दुई तले कम्पाउन्ड सहितको भवन रहेको छ । कोभिडको दोस्रो चरण समुदायस्तरमा फैलिइरहेको र मानिसले बेड, अक्सिजन नपाएरै ज्यान गुमाउने स्थिति आएकाले उक्त भवन आइसोलेसन निर्माणको लागि दिने व्यवस्था मिलाइएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।

    नुवाकोट कार्यालय पनि कोभिड अस्पताल बनाउन प्रस्ताव
    पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन नुवाकोट कांग्रेसले दिएको छ ।
    जिल्ला सभापति जगदीशनरसिंह केसीले कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढेर महामारी फैलिएका वेला जनताको स्वास्थ्योपचारका लागि सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेसको पार्टी कार्यालयमै अस्पताल बनाउन आग्रह गरेका हुन् ।

    ‘स्वास्थ्यजस्तो जनताको मौलिक अधिकार पनि तीनै तहका सरकारले व्यवस्थापन गर्न नसक्नु योभन्दा लाचारीपन केही हुन सक्दैन,’ सभापति केसीले भने, ‘संक्रमितको उपचारका लागि विदुरस्थित पार्टी कार्यालय रहेको नवनिर्मित भवनमा १२० शय्याको कोभिड अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गर्दछु ।’ सभापति केसीले जिल्लामा संक्रमितको संख्या बढेर अस्पतालमा बेड अभाव भएको गुनासो आउन थालेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

    बर्दियाको कार्यालय क्वारेनटाइन
    वर्दिया नेपाली कांग्रेसले पार्टी कायालय तथा वडा कार्यालयहरू क्वारेनटाइनको रुपमा रुपान्तरण गरेको छ । क्वारेनटाइनमा बस्नको लागि स्थान अभाव भएको अवस्थाका वर्दियाले यस्तो निर्णय लिएको हो ।

    मोरङका कांग्रेस नेताका गाडी बने एम्बुलेन्स
    विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र कांग्रेस नेता अरुण न्यापानेले आफ्नो सवारी साधनलाई जनताको सुविधाको लागि एम्बुलेन्समा रुपमान्तरण गरेका छन् ।

    मेयर पराजुलीले कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्यसम्बन्धी विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को१झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई समेत जनसेवामा समर्पित गर्ने निर्णय गरेको बताए ।

    विराटनगर महानगर समितिका सभापति अरुण न्यौपानेले पनि आफूले चढ्ने गरेको बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेका विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस