![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/unsc.jpg)
काठमाडाैं। नेपालले आफूलाई भूपरिवेष्टित देशबाट भूजडित राष्ट्रमा रूपान्तरण गर्ने परिकल्पना गरेको जनाउँदै त्यसलाई साकार पार्न विकासका साझेदार, पारवहन मुलुक र भूपरिवेष्टित राष्ट्रहरूबीच सघन एवं नवीकृत साझेदारी अपरिहार्य भएको बताएको छ ।
गत मंगलबारदेखि न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७६औँ महासभाका क्रममा आज भएको भूपरिवेष्टित विकासशील देशहरूको २०औँ वार्षिक मन्त्रिस्तरीय बैठकमा नेपालले अन्तर्राष्ट्रिय समुदायबाट विदेशी विकास सहयोग, प्रत्यक्ष वैदेशिक लगानी, व्यापारका लागि सहायता र प्रविधि हस्तान्तरणको मात्रा बढाउनुपर्नेमा जोड दिएको छ ।
बैठकलाई अप्रत्यक्षरूपमा सम्बोधन गर्दै परराष्ट्र सचिव भरतराज पौड्यालले विगतदेखि नै न्यून उत्पादन क्षमता, भौतिक पूर्वाधारका कमजोर सम्पर्क सञ्जाल, पारवहन देशहरुसँग अधिक निर्भर हुनुपर्ने अवस्थाका बीच जलवायु परिवर्तन र कोरोना महामारीले थपेको अकल्पनीय प्रभावले नेपालसहित भूपरिवेष्टित विकासशील देशहरू द्रुत विकासको बाटोमा अघि बढ्न समस्या भएको बताएका थिए ।
उनले भने, ‘महामारीबाट पार पाउन तथा आर्थिक वृद्धिको बाटोमा पुनःअग्रसर हुन हामीबीच बृहत् प्रयास अत्यावश्यक भएको छ ।’
उत्पादन क्षमता वृद्धि, अर्थतन्त्रको विविधीकरण, क्षेत्रीय र विश्व बजारसम्म पहुँच विस्तार गर्न दिगो तथा प्रतिरोधात्मक क्षमतायुक्त भौतिक पूर्वाधार निर्माण गर्दै विद्यमान सम्पर्क सञ्जालको स्तरोन्नति गर्नुपर्नेमा उनले जोड दिए।
‘हामीबीच सशक्त एकता र सहकारिता अनि पारवहन देश र विकासका साझेदारहरूबाट सहयोग भएमा भूगोलका बन्दी हामीले आफूलाई समृद्धिका बन्दीमा रूपान्तरण गर्न सक्छौँ’, भूपरिवेष्टित विकासशील देशहरूबीच सहकार्य र साझेदारीमा जोड दिँदै उनले भने।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)