काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छन्।
राष्ट्रपति कार्यालयका अनुसार संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो । नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन्।
सभामुख अग्निप्रसाद सापकोटाले आजै सो विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए।
विनियोजन विधेयक पारित नहुँदा मुलुक ‘बजेट होलिडे’ मा परेको थियो । प्रतिनिधिसभाले यही असोज ४ गते विनियोजन विधेयक पारित गरेको थियो ।
राष्ट्रियसभाले आजै सो विधेयक पारित गरेको थियो । राष्ट्रियसभाले विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो । त्यससम्बन्धी जानकारी संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले सदनलाई जानकारी गराएका थिए।
विधेयक पारित हुन नसक्दा गत भदौ ३० गते मध्यरातदेखि सरकारले खर्च गर्न पाएको थिएन । राजस्व उठाउन पाए पनि खर्च हुन नसक्दा त्यसको प्रभाव राज्यका हरेक क्षेत्रमा परेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित नभएपछि केही दिन सरकारले खर्च गर्न नपाउने अवस्था आएको बताएका थिए। विधेयकमा लालमोहर लागेकाले सरकारलाई खर्च गर्ने बाटोसमेत खुलेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।