• आजकाे माैसम : सातै प्रदेशमा पानी पर्ने

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । 

    अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    “काठमाडौंमा विहानदेखि वर्षा भइरहेको छ । दिउँसो केही समय मौसम खुले पनि साँझपख काठमाडौंमा पुनः पानी पर्ने छ,” मौसमविद् श्रेष्ठले भने, “पानी परे पनि भारी वर्षाको सम्भावना भने छैन, मध्यम वर्षा हुने छ ।”

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ । 

    मौसममा रहेको बदली कम्तीमा अझै दुईदिन रहने छ । “हिजो साँझबाट भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव नेपालमा पनि रहेको छ,” मौसमविद् श्रेष्ठले भने, “त्यसैले यसको प्रभाव कम्तीमा दुईदिन पर्ने देखिन्छ । यसको असर कम्तीमा दुई दिन मौसममा बदली र वर्षा हुन्छ ।”

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस