• पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

  • एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीनदिने भ्रमणमा शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल हुनेछ ।
    पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुवै पक्षले प्रयास गर्नेछन् ।

    पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गर्न लागेको जनाइएको छ । प्रधानमन्त्री खानका साथ विदेशमन्त्री र मन्त्रिमण्डलका अन्य सदस्यको सहभागिता रहेको छ ।
    भ्रमणका क्रममा साउदी पक्षसँग आर्थिक, व्यापारिक, लगानी, ऊर्जा, रोजगारीका अवसर समेतका विविध विषयमा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । साथै बैठकमा दुवै पक्षले आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि विचार आदानप्रदान गर्ने डनले लेखेको छ ।

    साउदी अरेबियाको भ्रमणका क्रममा प्रधानमन्त्री खानले इस्लामिक सहयोग संगठन (ओआईसी)का महासचिव युसुफ अल–ओथाइमिन, विश्व मुस्लिम लिगका महासचिव मोहम्मद बिन अब्दुलकरिम अल–इसा र मक्का एवं मदिनाका मस्जिदका इमामसँग पनि भेटघाट गर्ने छन् ।

    पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तान र साउदी अरेबियाबीच लामो र ऐतिहासिक भातृŒवपूर्ण सम्बन्ध रहिआएको उल्लेख गरिएको छ । ‘दुई देशबीचको सम्बन्ध सबै क्षेत्रमा प्रगाढ रहेको तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मामिलामा आपसी समझदारी रहँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    यद्यपि, पाकिस्तान र साउदी अरेबियाबीचको सम्बन्धमा सन् २०१५ देखि तिक्तता आएको छ । खासगरी यमनमा जारी युद्धमा पाकिस्तानी संसद्ले आफ्ना सेना पठाउन रोक लगाउने निर्णय गरेपछि दुवै देशबीच असमझदारी बढेको हो । साउदी अरेबियाको अग्रसरतामा यमनमाथि आक्रमण हुँदै आएको छ जसबाट ठूलो जनधनको क्षति भइरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस