काठमाडौं । नेपाली कांग्रेसको पालिका अधिवेशन फेरि अनिश्चित भएको छ । गत २५ भदौमा अन्तिम पटक संशोधित कार्यतालिका अनुसार वडा अधिवेशन सकेर यही असोज ९ गते देशभरका पालिकामा एकैपटक महाधिवेशन गर्ने कार्यतालिका बनेको थियो ।
तर १३ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान नहुँदा पालिका अधिवेशन पुनः प्रभावित हुन लागेको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार अहिलेसम्म बाँकी १३ जिल्लाका क्रियाशील सदस्यको सूची विवाद मिलाएर पार्टीले हस्तान्तरण गरेको छैन । त्यसैले वडा अधिवेशन भएका ठाउँमा मात्रै अघि बढ्ने निर्णय पार्टीबाट नभए आगामी ९ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न सम्भव छैन ।
पालिका अधिवेशन प्रभावित भए प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन स्वतः प्रभावित हुने छ । त्यसको असर प्रदेश र केन्द्रीय महाधिवेशनसम्म पर्न सक्छ ।
केन्द्रीय निर्वाचन समितिले यही अवस्थामा पालिका अधिवेशन असम्भव भएको ठहर गरिसकेको छ ।
“यही अवस्थामा त कसरी अधिवेशन सम्भव हुने भयो र ?,” केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले भने, “अहिलेसम्म क्रियाशील सदस्यता नै हामीले पाएका छैनौँ ।
बाँकी जिल्लामा वडा अधिवेशन नै ९ गते सम्भव हुनेमा ढुक्का हुन सकिने अवस्था छैन ।” उनले पालिका अधिवेशन हुने नहुने विषयमा भने आफूलाई टिप्पणी नगराउन आग्रह गरे । निर्वाचन समितिका सदस्यहरु पनि महाधिवेशन हुने नहुने विषयमा बोल्न तयार छैनन् ।
“पार्टीका नेताहरु बसेर निर्णय गर्नुहोस् कि वडा अधिवेशन सकिएका जिल्लामा पालिका अधिवेशन अघि बढाउने कि १३ जिल्लाको कुरेर बस्ने भनेर,” समितिका एक सदस्य भन्छन्, “नेताहरुबीच नै झगडा छ भने निर्वाचनको प्रक्रिया हामीले कसरी अघि बढाउने ?”
ती सदस्यका अनुसार निर्वाचन समितिमा पनि प्रक्रियासंगत रुपमा अघि बढ्ने कुरा भइराखेको छैन । समिति संयोजक महादेव यादव समितिमा आएका गुनासो सम्बोधन गर्नेभन्दा बेवास्ता गर्ने र संस्थापनको पक्षमा निर्णय गर्नेमा लागेको उनको आरोप छ ।
नेपाली कांग्रेसको कार्यतालिका अनुसार काम भएको भए गत भदौ २७ गते नै पालिका अधिवेशन सकिनुपर्थ्यो ।
गत साउन केन्द्रीय समितिले गरेको निर्णयअनुसार भदौ २ गतेभित्र टुंग्याउने भनेको क्रियाशील सदस्यता अहिलेसम्म नटुंगिदा २७ गते हुने भनिएको पालिका अधिवेशन आगामी ९ गतेका लागि सारिएको छ ।
तर त्यो तालिका प्रभावित हुने निश्चित भइसकेको छ । पाँच दिनअघि असोज १ मै प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भइसक्नुपर्ने थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मंगलबार अधिवेशन हुनुपर्ने थियो ।
आगामी १० गते हुने भनिएको जिल्ला अधिवेशन १८ गतृका लागि सारिए पनि अब पुनः तालिका प्रभावित हुने अवस्था सिर्जना भएको निर्वाचन समितिकै एक सदस्य बताउँछन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।